सशस्त्र प्रहरी बलले अन्तर–सीमा अपराध रोक्न बढायो सक्रियता

मंसिर ८ झापा ।
सशस्त्र प्रहरी बलले अन्तर–सीमा अपराध रोक्न अन्तर–सीमा क्षेत्रमा सक्रियता बढाएको छ।

झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छली लगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको हो।

चालु आर्थिक वर्षको चार महिनामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्टहरुले चार करोड ७८ लाख ४३ हजार ५५३ मूल्य बराबरको कर बीजक नभएको अवैध सामान बरामद गरेर भन्सारमा दाखिला गरेको सूचना अधिकारी मदन रसाइलीले बताएका छन्।

रसाइलीका अनुसार सीमा क्षेत्रका बासिन्दासँग सहकार्य गर्दै अपराध नियन्त्रणलाई थप सहज तुल्याउन सशस्त्र प्रहरी बलले झापाको सीमावर्ती २१ वटा वडामा वडास्तरीय सहजीकरण समिति गठन गरेको छ।

सशस्त्र प्रहरी बलले सीमाको सुरक्षा, अन्तर सीमा अपराध नियन्त्रण, मानव तस्करी नियन्त्रण, हातहतियार तस्करी नियन्त्रण लगायत कार्यमा विशेष निगरानी बढाएको रसाइलीले बताए। तेस्रो मुलुकका नागरिकबाट हुनसक्ने घूसपैठसमेत सशस्त्र प्रहरी बलले नियन्त्रण गर्दै आएको छ।

गत कात्तिक २८ गते भारतको पानीटङ्कीबाट नेपालतर्फ विना प्रवेशाज्ञा घुसेका दुईजना बङ्गलादेशी नागरिकलाई सशस्त्र प्रहरी बलको सीमामा तैनाथ टोलीले नियन्त्रणमा लिएर अध्यागमन कार्यालयमा अनुसन्धानका लागि बुझाएको थियो।

मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका चारवटा सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्ट (बिओपी)हरु तैनाथ रहेका छ।

सीमा सुरक्षाका सशस्त्रले नियमित गस्ती, चेकजाँच र तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *