काठमाडौ / पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा जलहरी राख्नुअघि मुचुल्का तयार पार्दा सुरक्षा निकायलाई नै छलेको पाइएको छ । सुन पगालेर जलहरी बनाउँदासमेत सुरक्षाकर्मीको उपस्थिति हुनुपर्नेमा गुपचुप काम गरिएको खुलेको छ । मुचुल्का उठाउँदा लेखिएको कागजमा सुनको परिमाण अंकित अक्षर र अंकमा पछि थपघट गरेको समेत भेटिएको छ ।
मुचुल्काको कागजमा पशुपति क्षेत्रको सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतको नाम उल्लेख गरिएको छ । तर मुचुल्का उठाउँदा उपस्थित हुन आफूहरूलाई खबर नै नगरिएको पशुपतिनाथको सुरक्षाका लागि तैनाथ नेपाल प्रहरीका निरीक्षक टीकाबहादुर कार्की र सशस्त्र प्रहरीका निरीक्षक वेदकुमार पनेरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी गराएका छन् । मुचुल्का गर्दा २८ जना उपस्थित भएको उल्लेख गरिएको छ । मूल पुजारी रावल गणेश भट्टसहित ६ भट्ट र भण्डारीले मुचुल्कामा हस्ताक्षर गरेका छैनन् । रोहबरमा उल्लेख गरिएकामध्ये ६ जनाको पनि हस्ताक्षर छैन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतले अख्तियारलाई बयानमा जलहरी बनाउने सुरुवाती चरणबाटै आफूहरू संलग्न नभएको बताएका छन् । ‘अरू बेला मन्दिरमा सामान चढाउनेलगायत निर्णयको मुचुल्कामा हामीलाई सहभागी गराइन्थ्यो, तर यस पटक खै किन हो, जानकारी नै दिइएन,’ एक सुरक्षा अधिकारीले अख्तियारलाई भनेका थिए । कोषले २०७७ फागुन ११ गते राति मन्दिरमा ९६ केजी ८ सय २२ ग्राम सुनको जलहरी राखेको मुचुल्काको व्यहोरामा उल्लेख छ । मुचुल्का उठाएको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी उद्घाटन गरेकी थिइन् । १ सय ८ केजीको बनाइएको भनिएकामा मन्दिरमा करिब ९७ केजीको मात्रै जलहरी राखिएको छ । बाँकी सुन कसले लग्यो भन्नेमा अख्तियारले अनुसन्धान गरिरहेको छ । स्रोतबाट प्राप्त मुचुल्काको व्यहोरामा जलहरीको परिमाण सुरुमा अंक र अक्षर दुवैमा ९५ केजी ८ सय २२ ग्राम उल्लेख गरिएको छ । त्यसलाई पछि सच्याएर ९६ केजी ८ सय २२ ग्राम बनाइएको स्पष्ट देखिन्छ ।