नेकपा समाजवादी पार्टीले सिट बाँडफाँटका लागि बनेको पाँच दलीय सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलको बैठक बिहीबार दिउँसो बस्दैछ । बैठकमा दलका नेताहरुले आ–आफ्नो पार्टीका तर्फबाट सिट बाँडफाँडको मोडालिटी र आधार पेश गर्दैछन् ।
गठबन्धनमा रहेको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीले कार्यदलको बैठकमा आज प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २० देखि २५ प्रतिशत सिट दाबी गर्ने भएको छ । यो आधारमा उसले १६५ सिटमा २० प्रतिशतको हिसाव निकाल्ने हुँदा ३२ सिटमा दाबी गर्नेछ भने २५ प्रतिशत हुँदा ४२ सिटमा दाबी पेश गर्ने भएको छ । सोही अनुसार उसले प्रदेशतर्फ पनि सिटको दावी गर्ने तयारी गरेको नेताहरुको भनाइ छ ।
‘हामीसँग अहिले २४ जना संघीय सांसद छन् । प्रदेशमा ६० जना छन् यो हिसाबमा ८४ सांसद हुन्छ । यसमा केही थप हुनुपर्छ, जबकी ९० देखि सय जना हाम्रा सांसद हुनुपर्छ’ ‘गठबन्धन गरेपछि अहिलेको यो संख्या घट्ने अवस्थामा हामी सहमति गर्दैनौं’ ।