असोज ५ काठमाडौं ।
आज देखि झापामा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाईदै छ ।
असोज ५ देखि १५ गतेसम्म सञ्चालन हुने जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध खोप अभियान सञ्चालन हुँदैछ ।
जापानिज इन्सेफलाइटिस विरुद्ध अभियानमा जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको जनाएको छ ।
अभियानका लागि ५ लाख ७० हजार डोज खोप प्राप्त भइसकेको र आवश्यक सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापा जिल्लाका १३१ वटा वडामा ९०० खोप केन्द्र स्थापना गरिएको र अभियान सम्पन्न गर्न करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र ३ हजार भन्दा बढी स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिएका छन् ।
झापामा जेईको सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कताका साथ खोप अभियान चलाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा ७ जनाको मृत्यु भइसकेको र मृत्यु भएका कसैले पनि जेई विरुद्धको खोप नलगाएको पाइएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख दासले लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटुन् भनेर स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक तयारी पूरा गरि खोप सुरक्षित भएकाले लक्षित समूहका नागरिकलाई अभियानमा सहभागी भएर खोप लगाउन आग्रह गरेको बताएका छन् ।