कात्तिक २२ काठमाडौं ।
मुन्दुम पदमार्गको जानकारी दिने लक्ष्यमा साथ वेबसाइट सञ्चालन गरिएको छ ।
मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको हो ।
कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले पदमार्गको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन तथा पर्यटकलाई सहज रूपमा आवश्यक सूचना उपलब्ध गराउने लक्ष्यका साथ वेबसाइट सञ्चालनमा ल्याएको जनाएको छ ।
टुरिजम डट कोशी डट जिओभी डट एनपी बाट मुन्दुम पदमार्ग सहित अन्य पर्यटकीय क्षेत्रको विषय समेत जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताएका छन् ।
मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्राका क्रममा आवश्यकपर्ने जानकारी डिजिटल माध्यम बाट उपलब्ध गराउन वेबसाइट प्रभावकारी हुने अध्यक्ष बस्नेतले बताएका छन् ।
वेबसाइट मार्फत पदमार्गको अवस्थिति, पदयात्राका गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय रहनसहन र पर्यटकीय आकर्षण बारे जानकारी वेबसाइट मार्फत लिन सकिने बताएका छन् ।
भोजपुर, खोटाङ लगायत आसपासका क्षेत्रलाई जोड्न मुन्दुम पदमार्ग पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।
प्राकृतिक सुन्दरता, हिमाली दृश्य, किरात संस्कृति, ऐतिहासिक तथा धार्मिक महत्वका स्थलले यस क्षेत्रलाई पदयात्राका लागि आकर्षक बनाएको छ ।
वेबसाइट सञ्चालनले मुन्दुम पदमार्गको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।
पदमार्गको व्यवस्थित प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि डिजिटल प्रविधिको प्रयोगलाई महत्वपूर्ण माध्यमका रूपमा लिइएको छ ।
