साउन १९ काठमाडौं ।
रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जाने पर्यटकको संख्या बृद्धि भएको छ ।
रसुवागढी नाका हुँदै मानसरोवर जाने पर्यटकको संख्या एक वर्षमा साढे १३ हजार गएका हुन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर भ्रमणमा आर्थिक वर्ष २०८२,८३ को तथ्यांक अनुसार एक वर्षमा १३ हजार ५ सय २३ अर्थात १८.७५ प्रतिशत धार्मिक पर्यटकले कैलाश मानसरोवर भ्रमण गरेको अध्यागमन कार्यालय, रसुवागढीले जनाएको छ ।
हिन्दु, बौद्ध, जैन, बोन धर्म मान्नेका लागि कैलाश मानसरोवर महत्त्वपूर्ण तीर्थस्थल मान्ने गरेका छन् ।
कैलास मानसरोवर जानका लागि हुम्लाको हिल्सा नाका हुँदै जान खर्चिलो भएकाले रसुवागढी नाकाको प्रयोग गरेर मानसरोवर जाने पर्यटकको संख्या उल्लेख्या बृद्धि भएको छ ।
आर्थिक वर्ष २०८२,८३ को एक वर्षमा ५३ हजार ७ सय ४२ जनाले चीन–नेपाल आउजाउ गर्न रसुवागढी नाका प्रयोग गरेको जनाएको छ ।
२०८२, ८३ मा २७ हजार २ सय ९३ पर्यटक नेपाल भित्रिएको र नेपाल बाट २६ हजार ४ सय ४९ पर्यटक बाहिरिएको अध्यागमन कार्यालय, रसुवागढीका प्रमुख यादव भण्डारीले बताएका छन् । पछिल्लो दुई वर्षको तुलना गर्दा रसुवागढी नाकाको प्रयोग २०.७४ प्रतिशतले वृद्धि भएको जनाएका छन् ।
एक वर्षको अवधिमा २४ हजार २ सय ७८ भारतीय, १० हजार २ सय ५७ नेपाली, ६ हजार २७ चिनियाँ, ४ हजार २ सय १४ अमेरिकी, १ हजार ५ सय ३४ अस्ट्रेलियाली, ९ सय १७ रसियन, ९ सय ११ मलेसियन, ८ सय ८४ भुटानी, ८ सय १० बेलायती र ४ सय २० क्यानेडिन सीमा वारपार गरेको तथ्यांकले देखाएको छ ।
कैलाश मानसरोवरबाहेक पर्यटक यो नाका प्रयोग गरेर ल्हासा, एभरेस्ट बेस क्याम्प (आधार शिविर)को चिनियाँ क्षेत्र समेत जाने गरेका छन् ।
