असार १६ काठमाडौं ।
कर्णाली प्रदेशका ४३ हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा धान खेती हुुँदै छ ।
कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।
प्रदेशस्थित कृषि विकास निर्देशनालयको अनुसार हालसम्म १२ हजार १५५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको जनाएको छ ।
निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायका अनुसार सम्भावित धानखेती हुने क्षेत्रफलको करिब २८ दशमलव १५ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको र सबै भन्दा बढी जुम्लामा ९५ प्रतिशत, डोल्पामा ९२ प्रतिशत, हुम्लामा ७५ प्रतिशत र मुगुमा ६८ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिएका छन् ।
कालिकोटमा ४८ प्रतिशत, सल्यानमा ४३ प्रतिशत, रुकुम पश्चिममा ३५ प्रतिशत, जाजरकोटमा २० प्रतिशत, दैलेखमा १२ प्रतिशत र सुर्खेतमा छ प्रतिशत मात्र रोपाइँ भएको निर्देशक रोकायले जनाएका छन् ।
असार १५ गते राष्ट्रिय धान दिवस मनाइरहँदा कर्णालीका धान उत्पादनका हिसाबले प्रमुख मानिने जिल्लाहरूमा पर्याप्त वर्षा नहुने तथा सिँचाइको अभावले गर्दा रोपाइँले अपेक्षित गति लिन नसकेको बताएका छन् ।
माथिल्लो कर्णालीमा उच्च चिसो सहन सक्ने चन्दननाथ–१ र चन्दननाथ–३ तथा केही स्थानीय तहमा कालीमार्सी धानको रोपाइँ हुने गरेको बताएका छन् ।
कर्णाली प्रदेशका मध्यपहाडी क्षेत्रमा खुमल–४, खुमल–८, खुमल–११, छोमरोङ तथा भित्री क्षेत्रमा राधा–४, राधा–१२, मन्सुली, सावित्री, बिन्धेश्वरी र चैते धानका जातको खेती हुने गरेको निर्देशक रोकायले जानकारी दिएका छन् ।
नेपालमा विसं २०६१ देखि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार विसं २०६२ असार १५ गते देखि यस दिनलाई औपचारिक रूपमा राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले जुम्लामा परम्परा देखि मनाउँदै आएको ‘बारुवा’ पर्वलाई मान्यता दिँदै चैत १२ गतेलाई आधिकारिक रूपमा धान दिवस मनाउने निर्णय गरेपछि यो परम्परा स्थापित भएको हो ।
नेपालमा ४१ लाख ३१ हजार कृषक परिवार मध्ये २७ लाख ६५ हजार परिवार धानखेतीमा आबद्ध रहेको निर्देशक रोकायले जानकारी दिएका छन् । कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धानखेती हुने गरेको छ ।
धानबाली समुद्री सतहबाट ६० मिटरदेखि विश्वकै उच्च स्थानमध्ये एक मानिने कर्णालीको जुम्लामा ३ हजार ५० मिटर उचाइसम्म खेती गरिन्छ ।
