असार ९ काठमाडौं ।
अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न अनुमति दिएको छ ।
इरान माथि लामो समय देखि लगाएको प्रतिबन्ध अस्थायी रूपमा स्थगित गरी अमेरिकाले अन्तर्राष्ट्रिय बजारमा इरानी तेल बेच्न बाटो खोलिदिएको हो ।
छुटसँगै अमेरिकी कम्पनीसहित अन्तरर्राष्ट्रिय बजारमा खुला रूपमा इरानले कम्तिमा दुई महिनासम्म डलरमा तेल बेच्न सक्ने जनाएको छ ।
अमेरिका र इरान युद्ध बीच अमेरिकाले हर्मुज जलमार्ग वरपर नौसेना तैनाथ गरी इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो । अमेरिकाले लगाएको नाकाबन्दीका कारण तेल बेच्न नपाएर इरानका कच्चा तेल भण्डार गृह भरिएको थियो ।
युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर पछि ६० दिनका लागि युद्धविराम गर्ने सहमति भएको अबधिभित्र अन्तिम सम्झौता गर्न स्विट्जरल्याण्डमा अमेरिका र इरानबीच वार्ता भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।
युद्धविराम अवधिभर इरानले तेल बेच्न पाउने, हर्मुजमा बिना रोकावट तेल तथा प्राकृतिक ग्यास बोकेका पानी जहाजहरुको आवतजावत गर्ने र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइएईए) का निरीक्षकहरूलाई यही सातादेखि इरान फर्कने अनुमति दिने सहमति भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् ।
यो सहमति कार्यान्वयनमा आएमा इरानले प्रत्यक्ष रूपमा डलरमा भुक्तानी प्राप्त गर्न सक्ने जनाएको छ । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताको पालना नगरे पुनः सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन् ।
उपराष्ट्रपति जेडी भान्सले आइएईएका निरीक्षकहरूलाई पुनः इरानमा फर्कन दिने सहमति महत्त्वपूर्ण रहेको बताएका छन् ।
आईएईएका महानिर्देशक रफायल ग्रोसी पनि स्विट्जरल्यान्डमा जारी वार्तामा सहभागी छन्। भने उनका प्रमुख उद्देश्यहरू मध्ये एक क्षतिग्रस्त आणविक केन्द्रहरूमा निरीक्षकहरूको पहुँच सुनिश्चित गर्नु रहेको बताइएको छ ।
इरानका कट्टरपन्थी समूहहरूले पनि निरीक्षकहरूको सम्भावित पुनरागमन प्रति असन्तुष्टि जनाएका छन् ।
भान्सले लेबननमा हिजबुल्लाह र इसराइलबीचको तनाव तथा हर्मुज जलमार्गमा जहाज आवागमन सम्बन्धी विवाद समाधानका लागि पनि प्रारम्भिक सहमति बनेको बताएका छन्।
भान्सले वार्तामा सफल अन्तिम सम्झौताका लागि राम्रो आधार तयार भएको बताए पनि अझै धेरै काम बाँकी रहेको जनाएका छन् ।
