आगामी जेठको पहिलो साता खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव हुने

वैशाख २५ काठमाडौं।
आगामी जेठको पहिलो साता खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव हुने भएको छ।

खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने भएको हो।

पर्यटन प्रवद्धधन गर्ने उद्देश्यले लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले जेठ ८ गते फेदीमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ।

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजना हुने महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले बताएका छन्।

“गाउँपालिकाका धेरै भीरमा मौरी पाइन्छन्, लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा ‘हनी हन्टिङ’ महोत्सव आयोजना गरिएको जनाएको छ।”

फेदीको तेरावा क्षेत्रमा आयोजना गरिएको महोत्सवमा जैविक विविधतासँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तित्वका साथै आन्तरिक तथा पर्यटकको सहभागिता रहने जनाएको छ।

जिल्लाको उत्तरी क्षेत्रका पर्ने उक्त केपिलासगढी गाउँपालिका–१ फेदीका सामुदायिक वन क्षेत्रमा रहेको एक दर्जनभन्दा बढी भीरहरूमा वर्षौँदेखि भीर मौरी बस्ने गरेको पाइएको छ।

स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीर लगायतका भीरहरुमा वर्षौँ अघिदेखि भीर मौरी बस्दै आएको तेरावाका स्थानीयले बताएका छन्।

फेदीका स्थानीयले उँभौलीको समयमा जेठ–असार तथा उँधौलीको समयमा कातिक–मङ्सिर महिना गरी वर्षमा दुईपटक भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन्।

एक याममा एउटै भीरबाट कम्तीमा पनि रु.५ लाख देखि रु.७ लाखसम्मको मह सिकार हुने गरेको स्थानीय मह सिकारीहरुले बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *