चैत १५ काठमाडौं।
भोजपुरका किसान चैते धान रोप्नमा व्यस्त भएका छन्।
हिउँदयाम सकिए सँगै तापक्रम बढ्न थालेपछि भोजपुर ग्रामीण भेगका किसान यति बेला चैते धान रोप्नमा जुटेका हुन्।
जिल्लाका हतुवागढी, अरुण, षडानन्द नगरपालिका लगायतका स्थानीय तहमा रहेका सिँचाइ सुविधा भएका फाँटमा अहिले रोपाइँको चटारो देखिएको छ।
समयमै रोपाइँ गर्न सके उत्पादन राम्रो हुने विश्वासका साथ किसान बिहान देखि बेलुकासम्म खेतमा खटिएको स्थानियले बताएका छन्।
चैते धान बाली छोटो अवधिमा पाक्ने भएकाले यसबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिने हतुवागढी गाउँपालिका–२ का जयबहादुर थापाले बताएका छन्।
कावाखोला किनार क्षेत्रका राजा–१२, बिजी र तौली जातका हिउँदे धानको खेती समेत हुँदै आएको थापाले जानकारी दिएका छन्।
फागुन अन्तिम देखि चैतको अन्तिमसम्म हिउँदे धान रोप्ने चलन रहेको र हिउँदे धान बाट आफूले बर्सेनि ४५ देखि ५० मुरीसम्म उत्पादन गर्दै आएको थापाले बताएका छन्।
“यति बेला रोपेको धान असार अन्तिम देखि साउनको पहिलो सातासम्म भण्डारण योग्य हुने र त्यस पछि पुनः अर्को बाली लगाउँने बताएका छन्।”
हिउँदे धान खेतीका लागि पर्याप्त सिँचाइको अभाव, मलखादको कमी र श्रमिक अभावका कारण समस्या देखिएको किसानको गुनासो गरेका छन्।
दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार जिल्लामा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टन धान उत्पादन भएको जनाएको छ।