असोज ६ काठमाडौं ।
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ।
शरदयामको सुरुवातसँगै अन्नपूर्ण गाउँपालिका–४ मा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो।
शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविर पर्यटकका लागि आकर्षण हो।
हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेको अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताएका छन्।
नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ।
७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा मौरिस हर्गोज नामाकरण गरी खुलाएको थियो।
अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्रि सतहदेखि चार हजार एक सय मिटर उचाइमा आधार शिविर रहेको छ।
छोटो यात्रामा पुग्न सकिने भएकाले पछिल्लाे समय अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ।