जेठ १ काठमाडौं ।
किराँत समुदायमा उभौली पर्वको रौनक सुरु भएको छ। उभौलीमा किराँत समुदायले प्रकृति पूजा गरी अन्न बाली राम्रो होस्, रोग व्याधी नलागोस् जस्ता कामना गर्छन्।
वैशाख शुक्ल पूर्णिमासँगै किराँत समुदायमा उभौली पर्वको रौनक सुरु भएको हो।एक महिनासम्म चल्ने उभौली पर्वमा टोलटोलमा साकेला सिली नाच्न सुरु भएको छ।
आगामी जेठ १० गतेसम्म सिली प्रदर्शन गरिने किराँत राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले जानकारी दिएका छन्।
यस पर्वले आआफ्नो भाषा, संस्कार र संस्कृतिको पहिचान दिलाउने र अस्तित्व जोगाउने अध्यक्ष राईले बताएका छन्।
भोजपुरसँगै खोटाङ, उदयपुर, सुनसरी, ओखलढुङ्गा, धनकुटा लगायतका पहाडी जिल्लाहरुमा पनि उभौली धुमधामले मनाउने गरिन्छ।
साकेला सिलीमा जातीय पहिचान झल्किने पहिरन महिला चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल र कम्मरमा हँसियासहित परम्परागत गरगहनाले सजिएर र पुरुषहरुले कालो कोट, खाँडीको कपडा, अल्लोको धागोबाट बनेको दौरा–सुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छर लगायत सिन्कौलीको सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाएर नाच्ने गर्छन्।