वैशाख २६ काठमाडौं ।
पुनः पाकिस्तान, भारत सीमा क्षेत्रमा गोलाबारी सुरु भएको छ। भारतीय प्रशासित क्षेत्र कश्मीरको जम्मु शहरमा दोस्रो दिन पनि पुनः गोलाबारी सुरू भएको हो।
सन् १९४७ मा भारत विभाजित भएर पाकिस्तान बनेको थियो। बेलायती उपनिवेशले कोरेको विभाजनको रेखाअनुसार मुस्लिम–प्रमुख पाकिस्तान र हिन्दू–प्रमुख भारतका रूपमा विभाजित भयो। यसपछि मानव इतिहासमा सबैभन्दा ठूलो र शायद सबैभन्दा रक्तपातपूर्ण आप्रवासन भएको थियो।
७८ वर्षपछि, दुई देशहरू पुनः कडा दुश्मनको अवतारमा एकअर्काका सामु प्रस्तुत भइरहेका छन्। दुवै राष्ट्र आणविक हतियार सम्पन्न छन्। अप्रिल २२ मा भएको पहलगाम हमलापछि भारत र पाकिस्तान बीचको तनाव फेरि तीव्र रूपमा बढेको छ।
कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विस्फोटको आवाज सुनिएको समाचार एजेन्सी अलजजिराले जनाएको छ।
मुख्यमन्त्री अब्दुल्लाहले केही घण्टाका लागि सडकमा ननिस्कन स्थानीयहरूलाई आग्रह गरेका छन्। शहरभरि साइरनको आवाज सुनिन थालेको छ।’
अलजजिराका अनुसार पत्रकार रविन्दर सिंह रोबिनले पनि शहरमा ‘भीषण गोलीबारीको आवाज’ सुनिएको रिपोर्ट गरेका छन्।