मंसिर ३ काठमाडौं ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि एकीकृत समाजवादीले २० ठाउँमा उम्मेदवारी दर्ता गराएको छ।
पार्टीका उपमहासचिव रामकुमार भट्टराईका अनुसार मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा दिलबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन्।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार प्राध्यापक डा. शिवशरण महर्जनलाई सघाएको छ।
रौतहटको ईशनाथ नगरपालिका– ७ को वडाध्यक्षका लागि सदरे आलमले उम्मेदवारी दिएका छन्।
सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्षका लागि डोमी उरावले उम्मेदवारी दर्ता गरेका छन्। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १२ को वडाध्यक्षमा निर्मला चौधरीले उम्मेदवारी दर्ता गरेकी छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्षका लागि बलराम वल, काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षका लागि मीनबहादुर मानन्धर, कीर्तिपुर नपा वडा नम्बर ४ को वडाध्यक्षका लागि रीता खड्काले उम्मेदवारी दर्ता गरेका छन्।
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा रविना खड्काले उम्मेदवारी दिएकी छन्। नुवाकोट जिल्ला ककनी गाउँपालिका–२ को वडाध्यक्षका लागि मानबहादुर लामाले उम्मेदवारी दिएका छन्।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ को वडाध्यक्षमा धनबहादुर घर्ती, रूकुमपश्चिमको सानीभेरी गाउँपालिका– ५ को वडाध्यक्षका लागि हंशराज पुरीको उम्मेदवारी रहेको छ।
बाजुराको स्वामीकार्तिकखापर गाउँपालिका उपाध्यक्ष पदमा जवा शाही, कञ्चनपुरको, भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि जीतेन्द्र चन्दले उम्मेदवारी दिएका छन्।
दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि जगत हमाल, दुल्लु नगरपालिका–१३ को वडाध्यक्षका लागि जगत शाहीले उम्मेदवारी दिएका छन्।
जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख पदमा जमना शाही, कुसे गाउँपालिका–७ को वडाध्यक्षमा वीरबहादुर सिंह, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सौभाग्य शाहीको उम्मेदवारी परेको छ।
गढीमाई नगरपालिका–८ को वडाध्यक्षका लागि वजरंगीप्रसाद यादवको उम्मेदवारी रहेको छ। धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा गोपाली साहको उम्मेदवारी रहेको छ।
मंसिर १६ गते स्थानीय तहका रिक्त ४४ स्थानमा उपचुनाव हुँदैछ। त्यस अन्तर्गत आइतबार मनोनयन दर्ता गरिएको थियो।
४४ पदका लागि ४१० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ। सोमबार दिउँसो तीन बजेसम्म दाबी विरोधको समय तोकिएको छ।
मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ।