भदौ २० काठमाडौं ।
ढोरपाटन नेपालको एकमात्र शिकार आरक्ष क्षेत्रमा शिकारको याम सुरु भएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर आह्वन गरेको छ। आर्थिक वर्ष २०८१,८२ को पहिलो सिजनका लागि ८ वटा झारल र १२ वटा नाउरको शिकार गर्न टेण्डर खुलाइएको विभागले जनाएको छ। टेण्डरको म्याद १५ दिनको हुन्छ । सबै प्रक्रिया पूरा गरिसकेपछि असोजदेखि शिकार सुरु हुने जनाएको छ।
सबैभन्दा बढी रकम कबोल गरेको आधारमा शिकार गराउने संघसंस्था छनोट गरिन्छ। टेण्डर हात पारेको संघसंस्थाले शिकारमा सोख भएका विदेशी पर्यटकलाई शिकार खेल्न ढोरपाटन लैजान पाउछ। हालसम्म शिकार खेल्नेहरु विदेशी पर्यटकहरु मात्र रहेको विभागले जनाएको छ।
‘शिकारको लागि प्रक्रिया सुरु भयो,’ विभागका व्यवस्थापन अधिकृत पेम्बा शेर्पाले भने, ‘सबै प्रक्रिया पूरा गर्न २५ दिन जति लाग्छ। त्यसपछि हामीले निश्चित ब्लक भित्र शिकार खेल्न पाउने अवधि तोकिदिन्छौं।’
ढोरपाटन क्षेत्रमा हरेक वर्ष पहिलो सिजन (असोज–मंसिर) र दोस्रो सिजन (फागुन–वैशाख)मा शिकार हुँदै आएको छ। विदेशी शिकारीसहितको समूहले शिकार खेल्न कम्तिमा १५ दिन जङ्गलमा बिताउँछन्। तोकिएको अवधिभित्र शिकार खेल्न नसके शिकारी खाली हात फर्कनुपर्ने नियम छ।
साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीहरुका लागि आकर्षक गन्तव्य बनेको छ। नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, बन्दोबस्तीका सामग्री तयार गर्दा एउटा शिकारीले करिब २० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका आरक्षका कर्मचारीहरु बताउँछन्।