भदौं १५ काठमाडौं ।
युक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ–१६ लडाकु विमान युद्धको क्रममा खसेको छ।
एफ–१६ लडाकु विमान पाएको रक्षात्मक प्रयोजनका लागि प्रयोग भइरहेको बेलामा खसेको र त्यसका एक पाइलटको मृत्यु भएको युक्रेनी सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
हमलालाई विफल पार्न युक्रेनले भर्खरै प्राप्त एफ–१६ लडाकु विमान र विमान झार्ने मिसाइलहरूको प्रयोग गरेको थियो। गत सोमबार रूसले एकैपटक धेरै स्थानमा २०० भन्दा बढी मिसाइल र ड्रोनले आक्रमण गरेको थियो। त्यस क्रममा रूसी मिसाइल खसाउन खटाइएको सो विमान दुर्घटना भएको युक्रेनले जनाएको छ।
एफ–१६ लडाकु विमानहरूले चार वटा रूसी क्रुज मिसाइल खसालेको पनि सो वक्तव्यले दाबी गरेको छ।
युक्रेनका अनुसार एफ–१६ लडाकु विमानहरू रक्षात्मक कारबाहीका लागि गइरहेको बेला एउटा विमानसँग सम्पर्क टुटेको थियो। पछि सो विमान दुर्घटना भएको र पाइलटको मृत्यु भएको बताइएको थियो।
एक युक्रेनी सांसदले अमेरिकी प्याट्रिएट मिसाइल–डिफेन्स सिस्टमले रूसी आक्रमण रोक्ने क्रममा भूलवश सो लडाकु विमान खसालेको दाबी गरेको छन्।