आगामी राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाको समर्थन कमला ह्यारिसलाई

साउन १४ काठमाडौं ।
आगामी राष्ट्रपतीय निर्वाचनमा पूर्व–अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पविरूद्ध डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसको उम्मेदवारीलाई समर्थन गरेका छन्।

आइतबार हालका राष्ट्रपति जो बाइडेनले डेमोक्र्याटिक पार्टीका तर्फबाट आफूले चुनाव नलड्ने र ह्यारिसलाई पार्टीको उम्मेदवार प्रस्ताव गरेपछि पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टन लगायत धेरै वरिष्ठ नेता र ह्यारिसका प्रतिद्वन्द्वी ठानिएका धेरै नेताले समेत समर्थन गरेका थिए।

सन् २०१६ मा राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल पुरा गरेपछि डेमोक्र्याटिक पार्टीका अभिभावकको भूमिकामा रहेका ओबामाले किन ह्यारिसलाई अनुमोदन गरेनन् भनेर चर्चा चलेको थियो।

ओबामा र उनकी श्रीमती मिसेल ओबामाले संयुक्त विज्ञप्ति निकालेर ह्यारिसलाई अमेरिकाको आगामी राष्ट्रपति निर्वाचित गराउन उनीहरूले सक्ने जेसुकै गर्ने दृढता व्यक्त गरेका छन्। ह्यारिसले फोन गरेर ओबामाको अनुमोदन स्वीकारेको भिडिओ उनको प्रचार गर्ने टिमले शुक्रबार सार्वजनिक गरेको छ।

ट्रम्पका संचार निर्देशकले हालै निकालेको एक विज्ञप्तिमा समेत ओबामासहित डेमोक्र्याटिक पार्टीका धेरै नेता ह्यारिसले ट्रम्पलाई हराउन नसक्ने ठानेर उनीभन्दा राम्रो उम्मेदवार खोजिरहेका छन् भन्ने दाबी गरिएको थियो। तर ह्यारिस उम्मेदवार बन्ने लगभग पक्का भएपछि भने ओबामाले उनको उम्मेदवारीको समर्थन गरेका छन्।

ह्यारिसलाई पार्टीका वरिष्ठ नेता र उनका प्रतिद्वन्द्वी ठानिएका धेरै नेताले समेत समर्थन गरेका थिए। राष्ट्रपतिका लागि दाबेदार मानिएका क्यालिफोर्नियाका डेमोक्र्याट गभर्नर ग्याभिन न्यूसमले बाइडेनले मैदान छाड्ने बित्तिकै ह्यारिसको समर्थन गरेका थिए।

ओबामाले पनि ह्यारिसको उम्मेदवारीको अनुमोदन गरे पछि पार्टी पुरै एक ढिक्का भएर ह्यारिसलाई जिताउन लागेको सन्देश गएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *