जेठ १ पोखरा ।
सरकारले पर्यटकलाई आकर्षित गर्नका लागि रुपाताल संरक्षणको ‘मेगा प्रोजेक्ट’ सञ्चालन गरेको छ। कास्कीको फेवा र बेगनासमा पर्यटकको चहलपहल हुन्छ तर तेस्रो ठुलो ताल रुपा बेगनासको नजिकै भए पनि रुपामा सुनसान छ।
सिस्टेनीघाटदेखि सुवेदीटुँडासम्म बाँध निर्माण गर्न लागिएको हो। संरक्षणको काम पूरा भएपछि हाल १०७ हेक्टरमा रहेको रुपाताल १८३ हेक्टर क्षेत्रफलमा विस्तार हुनेछ। तालको वरिपरि सडक निर्माण गरिनेछ भने छुट्टै आइल्याण्ड बनाएर मन्दिर निर्माण गर्ने योजना छ। तालमाथि सिसाको पुलबाट मन्दिरसम्म जान बाटो बनाइनेछ। २ साताभित्रै ८ किलोमिटर बाटो अस्पाल्ट पिच गरिने परियोजनाका प्रतिनिधिले जानकारी दिए।
हालसम्म सवा अर्बको काम भइसकेको छ। परियोजनाको काम पूरा गर्न ४ अर्ब ५२ करोड लाग्नेछ। ९० करोड मुआब्जामा खर्च भएको छ भने अन्य रकमले बाँध निर्माण, सडक निर्माण, पुल निर्माणमा खर्च भएको छ। अझै ३० करोड रुपैयाँ हाराहारी मुआब्जा वितरण गर्न बाँकी छ।
स्थानीयले अनावश्यक रूपमा आफ्ना जग्गा रोक्का राखेर मुआब्जा समेत नदिएको भन्दै निर्माणको काम रोकिदिएका छन्। आफ्ना माग सम्बन्धित निकायमा सुनाए पनि वास्ता नगरे पछि काम रोक्न बाध्य भएको सङ्घर्ष समितिका प्रतिनिधिले बताए। वर्षाैँदेखि जग्गा रोक्का राखेर पीडित बनाएको गुनासो गरेका छन्। समस्या सम्बोधन नभएसम्म अब काम अघि बढ्दैन।
८ सय रोपनीको मुआब्जा वितरण भइसकेको परियोजनाले जनाएको छ। बाँकी जग्गा सरकारी भएका कारण मुआब्जा दिनुपर्दैन। पूरा परियोजनाको लागि १ हजार ४७७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने जानकारी छ। तालको आकार बढाउन र पर्यटकको बसाइ लम्ब्याउनका लागि ५७२ मिटर लामो बाँध बनाउन थालिएको छ।