सकियो लगानी सम्मेलन

वैशाख १८ काठमाडौं ।
नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन ठोस उपलब्धि बिना सम्पन्न भएको छ। ठूला परियोजनामा लगानीकर्ता आकर्षित भएर लगानी घोषणा नभएको यो सम्मेलन विगतमा जस्तै कर्मकाण्डमै सकिएको छ। सरकारले यस पटक १ सय ५२ वटा परियोजनाहरू शोकेसमा राखेको थियो।
लगानी सम्मेलनको मुखमा हतार–हतार कानुनहरू संशोधन गर्दै लगानीकर्तालाई सरकारले आश्वस्त पार्न खोजे पनि सहभागिता र उपलब्धिका दृष्टिकोणबाट लगानी सम्मेलन अपेक्षित सफल हुन सकेन।

सरकारले तेस्रो लगानी सम्मेलनसम्म आइपुग्दा हरेक पटक उही प्रकृतिका परियोजना शोकेसमा राख्ने र ती परियोजनालाई अगाडि बढाउन न्यूनतम तयारीका काम समेत पूरा गर्न सकेको छैन। फलस्वरूप यस्ता परियोजनाहरू लगानीको पर्खाइमा मात्र सीमित बन्न पुगेका छन्। यसका बाबजुद सोमबार केही सम्झौता र समझदारीहरूमा हस्ताक्षर भने भएको छ। यसरी लगानी घोषणा गरिएकामा पनि गैरआवासीय नेपालीहरूको लगानीको हिस्सा देखिन्छ।

तेस्रो लगानी सम्मेलनको उपलब्धी मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय कम्पनीसँग समझदारी भएको छ। सोमबार बीटूबी प्यानल डिस्कसनमा भारतीय र चिनियाँ लागनीकर्ताको चासो गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स (जीकेसीसी) मा देखिएको थियो। जीकेसीसी परियोजनालाई चिनियाँ सिन्चेन ह्वाह इन्टरनेसनल र जज्याङ् अर्बन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाइजरी र साइस्पेक्टिभ इन्टरनेसनलले सम्झौतापत्रको ड्राफ्ट आदनप्रदान गरेका छन्।

सोमबार नै नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) र इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा एफएनआईसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरे।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *