वैशाख ५ काठमाडौं ।
अष्ट्रेलियाको सिड्नीमा चक्कु प्रहार बाट ६ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै फेरि चक्कु प्रहारको अर्को घटना भएको छ । यो घटनामा भने कसैको मृत्यु भएको छैन चार जना घाइते भएका छन्।
एक १५ वर्षे युवकले बिशप, एक पादरी र अन्य व्यक्तिहरूलाई आक्रमण गरेका थिए। अष्ट्रेलिया प्रहरीका अनुसार सोमबार सिड्नीको उपनगर वाकेलीमा अवस्थित इसिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको समयमा चक्कु प्रहार भएको थियो । प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको बेला यो आक्रमणलाई पनि सबैले देखेका थिए।
यो घटनामा आक्रमणकारी पनि घाइते भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। एक साताभित्रै दुईपटक चक्कु प्रहारको घटना भएपछि प्रहरीले यसलाई धर्मको आधारमा भएको आतंकवादी हमलाको संज्ञा दिएको अलजजिराले जनाएको छ।
चर्चमा भएको आक्रमणपछि आक्रोशित दर्जनौं व्यक्तिहरू चर्च बाहिर भेला भएका थिए । उनीहरू र प्रहरीबीच झडप नै भयो। आक्रोशित समूहको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन् भने २० वटा गाडीमा क्षति पुगेको बीबीसीले जनाएको छ।
घाइतेहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई पनि आक्रोशित समूहले करिब तीन घण्टासम्म घेरा हालेर राखेका थिए। घटनापछि प्रधानमन्त्री एन्थोनी एलबनिजले राष्ट्रिय सुरक्षा एजेन्सीको बैठक बोलाएर छलफल गरेका थिए। उनले अष्ट्रेलिया शान्तिप्रिय देश भएको भन्दै आतंकवादलाई कुनै स्थान नरहेको बताएका छन्।