जाडो यममा नेपाल आएका पर्यटक चरा फर्किए

चैत ८ मोरङ ।
असोज देखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहने र चैत लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रूसलगायत मुलुकबाट जाडो छल्न नेपाल आएका पर्यटक चरा फर्किएका छन् । चैत सुरुदेखि पर्यटक चरा फर्किने गर्दछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्मस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ ।

करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातर्फ जाने बताए । उनका अनुसार यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा प्रायः रहने गर्दछन् ।

जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइलगायत प्रजाति पर्ने चरा विद्हरु बताउँछन् ।

अघिल्लो वर्षभन्दा यस वर्ष कोशीटप्पु आरक्ष क्षेत्रमा चराको सङ्ख्यामा कमी आएको छ । ‘मिड–विन्टर वाटर वर्ड सेन्सस–२०२४’ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षण लगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ५३ प्रजातिका पाँच हजार पाँच सय २७ सङ्ख्यामा चरा फेला परेका छन् ।

गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चराको तथ्याङ्क रहेको उनको भनाइ छ । बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए ।

पानीमा आश्रित चरालाई सिमसार संरक्षणको अभाव हुनुका साथै आहाराको कमीले सङ्ख्या घटेको छ । मानव बस्ती र मानवीय व्यवहार, पूर्वाधार निर्माण, जलवायु परिवर्तनको असर, वनमा लाग्ने आगो लगायत कारणले पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ ।

करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छन् । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ’, पन्छी समाजका अध्यक्ष तिम्सिनाले भने ।

उनका अनुसार नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके लगायत हुन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषिभूमि हुन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *