सिद्धबाबा सुरुङमार्ग तीन वर्षभित्र सक्न मन्त्री महासेठको निर्देशन

बुटवल ३ चैत ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले सिद्धबाबा सुरुङमार्गको अनुगमन गर्ने क्रममा हालसम्म भएको भौतिक प्रगतिको बारेमा जानकारी लिंदै २०८३ सालभित्रै सुरुङमार्ग निर्माण गरिसक्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्।

 

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा बन्ने सुरुङमार्ग निर्माणले पछिल्लो समय गति लिएको भन्दै यसलाई निरन्तरता दिन मन्त्री महासेठले आग्रह गरे। निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका प्रतिनिधि र आयोजना हेर्ने सडक डिभिजनका इन्जिनियरहरूलाई गुणस्तरमा सम्झौता नगर्न र तोकिएको मितिमा निर्माण पूरा गर्न निर्देशन दिंदै यसका लागि बजेटको अभाव हुन नदिने बताए।

 

उक्त अवसरमा आयोजनाको इन्जिनियर सविता ज्ञवालीले अहिलेसम्म १७ प्रतिशत भौतिक प्रगति भएको र कामले रफ्तार लिएको जानकारी गराइन्। उनका अनुसार ३५ जना चिनियाँ इन्जिनियर र १०० जना नेपाली प्राविधिकले नियमित काम गरिरहेका छन्। मन्त्री महासेठले बुटवल–नारायणगढ सडकको सास्ती पनि छिट्टै हट्ने बताएका छन्। बुटवलमा रोटरी क्लबको १६औं जिल्ला सम्मेलन उद्घाटन गर्दै मन्त्री महासेठले सडक निर्माणको गति तीव्रताका साथ अगाडि बढेको भन्दै अब नरोकिने बताए।

 

मन्त्री महासेठले बुटवलदेखि गोरुसिंगे–चन्द्रौटा सडक निर्माणको काम पनि अब छिट्टै अगाडि बढ्ने बताए। बुटवल–बेलहिया सडक र भैरहवा–लुम्बिनी सडकमा अलपत्र पुलको निर्माण सम्पन्न गर्न पनि उनले निर्देशन दिए।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *