काठमाडौँ २१ फागुन।
नयाँ समीकरण अनुसार मन्त्रिपरिषद् पुनर्गठनको निर्णय भएसँगै राष्ट्रपति भवन शीतल निवासमा ५ बजे शपथको तयारी गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाट शीतल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्र पठाएसँगैम शीतल निवासमा शपथको तयारी गरिएको स्रोतले बताएको छ।
प्रधानमन्त्रीले आजै शपथ गराउँने भनेर राष्ट्रपतिज्यूलाई जानकारी गराइसक्नु भएको छ। कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार मध्याह्न राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए। भेटका क्रममा प्रधानमन्त्रीले तीन मन्त्रीको शपथ हुने राष्ट्रपतिलाई जानकारी गराएका छन्।
जस अनुसार प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने जानकारी गराएका हुन्। गिरी एमालेबाट, तामाङ माओवादीबाट र अर्याल रास्वपाबाट मन्त्री बन्न लागेका हुन्। नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा लगायतको विषयमा ठोस सहमति हुन लागेकाले तत्काल तीन जना मन्त्री बन्न लागेका हो।