काठमाडौँ ११ माघ ।
सभामुख देवराज घिमिरे र संयुक्त राष्ट्रसंघका उपमहासचिव एवम् निःशस्त्रीकरण मामिला सम्बन्धि राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुबीच भेटवार्ता भएको छ । भेटमा हतियार निःशस्त्रीकरणमा राष्ट्रसंघ र नेपालले गरेका प्रयासहरु, साना र हलुका हतियारसम्बन्धी कार्य योजना, अन्तर्राष्ट्रिय सन्धी अनुमोदन लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुखले संयुक्त राष्ट्रसंघ, निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिद्वारा महासभामा गरिएका प्रयासहरू, निःशस्त्रीकरण मामिलाहरूमा संयुक्त राष्ट्रसंघ कार्यालयले गरेका विश्वव्यापी निःशस्त्रीकरण प्रयासहरूको सराहना गरेका छन् । छलफलले साना र हलुका हतियार सम्बन्धी कार्य योजनासम्बन्धि चौथो समीक्षा सम्मेलनको सफलतामा ठूलो योगदान पुर्याउनेछ । सभामुखले १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्र संघसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताए ।
भेटमा संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुले नेपालको संसदले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरिन् । जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसदले गृहकार्य गर्ने बताएका छन् । उपमहासचिव नाकामित्सुले नेपाल विश्व शान्तिका लागि योगदान दिने दोस्रो मुलुक र विश्व शान्तिका लागि महिलाहरुको प्रतिनिधित्व गराउने पहिलो मुलुक रहेको बताउँदै शान्ति स्थापनामा गरेको योगदानको कदर गरेकी छिन् ।