काठमाडौं २ माघ ।
नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये दुई जहाज प्राविधिक समस्स्याका कारण ग्राउन्डेड भएका छन् । यस बाट सयौं यात्रुको यात्रा प्रभावित बनेको छ । निगमको दर्ता नम्बर ९एन–एएलजेड ए३३० सिरिजको वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
निगमको एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । एक महिनाभन्दा लामो समय नेपालमै ग्राउन्डेड भएको जहाज बेलैमा मर्मतको व्यवस्था मिलाउन नसक्दा निगमको एकै साथ अन्तर्राष्ट्रिय उडानमा दुई जहाज कमी हुन पुगेको हो । प्रवक्ताका अनुसार रातिबाट ग्राउन्डेड भएको जहाजको मर्मत काम जारी छ । ‘यसलाई आजै उडानयोग्य बनाउने प्रयास छ,’ उनले भने, ‘त्यसो गर्न सकियो भने पूर्वनिर्धारित उडानहरू प्रभावित हुने छैनन् ।’ निगमसँग अब एउटा वाइडबडी र एउटा न्यारोबडी जहाजमात्र उडानयोग्य अवस्थामा छन् ।