काठमाडौं २९ पुस ।
थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा लिइने माघीले थारु समुदाय तथा बस्ती उल्लासमय भएका छन् ।
थारु समुदायमा माघीलाई विशेष महत्त्वका साथ हेरिन्छ । माघी देखि नै समुदायमा नयाँ काम सुरु गर्नुका साथै नयाँ व्यवस्था लागु हुने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिने बैजनाथका थारु अगुवाले बताए । ‘माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँच थारु गाउँमा सुरु भएका छन् । भने, ‘गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणा उठाउने चलन पनि छ ।’
पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीमा यी जिल्लामा विशेष महत्त्वकासाथ मनाउने गरिन्छ । गाउँको अगुवा, प्रमुखदेखि चौकीदारसम्म चुनिने, वर्ष भरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने, लेनदेन, घरसल्लाह लगायत विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षको रुपमा पनि थारु समुदायले लिने गरेका छन् ।