काठमाडौं, असोज १३
डलरको भाउ बढे पछि नेपाली मुद्रा थप कमजोर बनेको छ । पछिल्लो केही दिन यता डलरको मूल्यले एक पछि अर्को नयाँ रेकर्ड कायम गर्दा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो ।
गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यस यता हरेक दिन जसो बढेर नयाँ रेकर्ड बनाउँदै गएको छ । पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो ।
बिहिबारको लागि एक अमेरिकी डलरको विनिमय (बिक्री) दर १३० रुपैयाँ ८१ पैसा पुगेको थियो । यस्तै राष्ट्र बैंकले तोकेको खरिद मूल्य १३१ रुपैयाँ ४१ पैसा रहेको छ । गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेकोमा शुक्रबार उक्त मुल्यबाट माथि लागेको थियो ।
अगामी दिनमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् । फेडले ब्याजदर बढाउँदा भारत सहित विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ ।
यसका साथै रुस–युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको अथर्एवीदहरु बताउँछन् । डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम रहेको छ ।