७ भाद्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्रको पुराना समस्यामा नफस्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमालेभित्र पनि आत्मकेन्द्रीत हुने पुरानो प्रबृति रहेको भन्दै यसमा नफस्न आग्रह गरेका हुन् ।
निर्वाचनका लागि नेतृत्वमा बसेकाहरुले सवै ठाउ पुगेर सवैलाई समेट्नुपर्ने उनले बताए । उम्मेदवारी नपाएर असन्तुष्टि हुने कामले निकै घाटा हुने गरेको भन्दै एकजुट भए सहज रुपमा जित्न सकिने जिकिर समेत गरेका छन् ।
त्यस्तै अध्यक्ष ओलीले यसअघि आफुले अघि सारेको नागरिकता सम्बन्धी कानूनलाई प्रचण्डले रोकेर अहिले भने छलफल नै नगरि अघि बढाएमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकारले ल्याएको नागरिकता सम्बन्धी कानूनमा रहेका कतिपय बिषयहरुप्रति आपत्ती जनाएका छन् । नागरिकताको समस्या सहिढंगले समाधान गर्ने पार्टी एमाले बाहेक अरु कोहि नरहेको उनको भनाई छ ।
अध्यक्ष ओलीले यसअघिको एमाले सरकारले निकै राम्रा काम गरेको र वर्तमान सरकारले निरन्तरता दिन नसकेको धारणा राखे ।