काठमाडौं, भदौ ६ | बलात्कार मुद्दामा आरोपी शिवराज श्रेष्ठको डिएनए जाँच गर्नुपर्ने मागसहित अनसन बसेकी निहारिका राजपुतले १७ औं दिनमा अनसन तोडेकी छन्।
कानुनमन्त्री गोविन्द शर्माको उपस्थिति र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको रोहवरमा काठमाडौंका सिडिओ गोविन्द रिजालसँग तीन बुँदे सहमतिपछि आइतबार साँझ उनले अनसन तोडेकी हुन् । पछिल्लोपटक उनले राष्ट्रपति कार्यालयअघि आत्मदाह गर्ने कोसिस गरेपछि प्रहरीले नियन्त्रणमा लिएर प्रहरी अस्पतालमा राखेको थियो । उनी त्यहीँ अस्पतालमै अनसन बसेकी थिईन ।
उनी अनसन बसेपछि कानुनमन्त्री शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खातीसहितको सरकारी टोलीले वार्ता गर्दै आएको थियो । वार्ता टोलीसँग उनले आफ्नो लागि मात्रै नभएर हरेक कुमारी आमाबाट जन्मिएका बालबच्चाको भविष्य, हकअधिकार सुनिश्चित गर्नुपर्ने माग गरेकी थिइन् । एकल महिला वा कुमारी आमाहरूलाई समस्या नहोस् भनेर अनसन बसेको बताईन ।
काठमाडौंको महाराजगन्जस्थित प्रहरी अस्पतालमा अनसनरत निहारिकाको बलात्कार मुद्दा उच्च अदालत जनकपुरमा विचाराधीन छ । प्रहरीले घटनामा अनुसन्धान गर्न भन्दै आरोपित शिवराज श्रेष्ठलाई गत बुधबार धनुषाबाट पक्राउ गरेको थियो।