३१ साउन, काठमाडौं । मंसिर चार गते हुने संघ र प्रदेशको निर्वाचनका लागि नेपाली कांग्रेसले दल दर्ताका लागि निवेदन दिएको छ ।
मंगलबार निर्वाचन आयोग पुगेर पार्टीका उपसभापति धनराज गुरुङ लगाएतका नेताहरु दल दर्ताका लागि निवेदन दर्ता गराएका हुन् । निवेदनपछि कांग्रेस उपसभापति गुरुङले पार्टी अव निर्वाचनमा होमिएको बताए । उनले पाँच दलीय गठबन्धनमा माओवादीभित्र एउटै चिन्ह लिने सहमतिमा कुनै असर नपर्ने बताए । गठबन्धमा तालमेलको छलफल जारी रहेकाले सिटको टुङ्गो नलागेको समेत गुरुङले जिकिर गरेका छन् ।
त्यस्तै आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी तथा नेकपा एकता अभियानले निर्वाचन आयोगमा निवेदन दिएका छन् । एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल लगाएतको टोली आयोग पुगेर एउटै चिह्न प्रयोग गर्ने सम्बन्धी निवेदन दिएका हुन् । यसैबीच निर्वाचन आयोगले ७६ वटा दलहरु आगामी निर्वाचनको प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दल दर्ताका लागि निवेदन दिएका दलहरुको बुधबारबाट रुजु सुरु हुने बताए ।
त्यस्तै उनले यसपटक दुई वा सो भन्दा बढि दलले एउटै निर्वाचन चिन्हबाट चूनाव लड्न केहि दलले निवदेन दिएको जानकारी दिए।