असोज ३, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले कालोबजारी रोक्न माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको टोलीले महंगी, कारोबजारी, भाडा वृद्धि र विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा प्रदान गरिने ४५ प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गर्न माग गर्दै मंगलबार गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएको हो ।
सत्तारुढ गठबन्धन दलका विद्यार्थीले नै आफ्नो पुत्ला जलाएको घटनाप्रति गृहमन्त्री खाणले आपत्ति जनाउँदै ‘१५ साउनमा जयसिंह धामी तुइन तर्दा भएको प्रकरणमा मन्त्रालयका सहसचिव नेतृत्वको छानबिन समितिले अहिलेसम्मकै राम्रो प्रतिवेदन बुझाएको र उक्त प्रतिवेदन आफूले परराष्ट्र मन्त्रालयमार्फत भारतमा पठाए पनि सत्तारुढ दलकै विद्यार्थी संगठनले आफ्नो पुत्ला जलाएकोमा असन्तुष्टि जनाएका हुन् । उनले यस्ता विषयमा आफूलाई जतिबेला पनि सम्पर्क गरेर जानकारी लिन सकिने बताएका छन् ।
ज्ञापनपत्र बुझाउन नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, नेताहरु वसिम आलम, आरती लामा, अशोक थापा लगायत सिंहदरबार पुगेका थिए ।