साउन २८ काठमाडौं ।
भदौ १ गते देखि बडीमालिकामा मेला लाग्ने भएको छ ।
यस वर्षको मेला तथा पुजा भदौ १ गते देखि सुरु हँने भएको हो ।
सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिकामा दर्शनार्थीको बढ्दो चापलाई ध्यान दिँदै यस वर्ष मुख्य पूजाको दिन अघि नै मेला सुरु गर्ने निर्णय गरिएको जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाको अनुसार जिल्लामा भएको सर्वपक्षीय बैठकले एकैदिन अत्यधिक भीड हुने भएकाले भदौ १ गते देखि नै मेला सुरु गर्ने निर्णय गरेको जनाएका छन् ।
हरेका वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन हुँदै आएको पुजा यस वर्ष भदौ १२ गते जनैपूर्णिमा भएकाले त्यसको अघिल्लो दिन पूजा हुने जनाएको छ ।
गत वर्ष बडीमालिकामा करिब ४५ हजार भन्दा बढी भक्तजनले दर्शन गरेका थिए । हरेक वर्ष देशका विभिन्न जिल्लाका तथा छिमेकी मुलुक भारत बाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् ।
बाजुरा, डोटी र जुम्ला बाट पूजा सामग्री सहित सरकारी टोलीसमेत बडीमालिका पुग्ने परम्परागत चलन रहेको छ ।
गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिकाको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप पर्यटकको संख्या बढ्न सक्ने जनाएको छ ।
बडीमालिका नगरपालिका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि सबै तयारी सुरु गरिएको जानकारी दिएका छन् ।
जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पार्नुका साथै मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय समेत तयार पारेको प्रमुख खडकाले बताएका छन् ।
मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचनापाटी राख्ने, धार्मिक क्षेत्रको कायम गर्न मदिरा, लागुपदार्थ र मासुजन्य वस्तु निषेध गरिने निर्णय भएको जनाएको छ ।
समुद्री सतह बाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको रूपमा परिचित छ ।
