साउन २६ काठमाडौं ।
जोमसोम–कोरोला नाका जोड्ने घमी खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।
उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने पक्की पुल सम्पन्न भएको हो ।
मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित पर्वतको मालढुङ्गा देखि मुस्ताङको कोरोला नाकासम्मका निर्माणाधीन २०२ किलोमिटर सडकखण्डमा निर्मण भएको १५ वटा पक्की पुल सम्पन्न भएको आयोजनाले जनाएको छ ।
विसं २०७५ पुस ९ गते ठेक्का सम्झौता भएको घमी खोला पक्की मोटरेबल पुल हालै सम्पन्न भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिएका छन् ।
कोरला क्षेत्रमा कठोर भूगोल, प्रतिकूल मौसम, हिमपात र निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माण समयमै सम्पन्न हुन सकेको थिएन ।
पुल निर्माणका लागि निर्माण कम्पनीलाई पटकपटक ताकेता र कारबाही गरिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा ढिलै भए पनि पुल निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख शर्माले बताएका छन् ।
सम्झौता अनुसार २०७८ साल पुस ९ गतेभित्र सम्पन्न हुनुपर्ने घमी खोला पुलको पटकपटक म्याद थप हुँदै आएको थियो ।
आयोजना र लो घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोबसाङ छोम्पेल विष्टको सक्रियतामा सम्झौता अवधि सकिएको पाँच वर्षपछि निर्माणाधीन घमी खोला पुल सम्पन्न भएको आयोजनाले जनाएको छ ।
मुस्ताङको कोरोला नाका जोड्ने ४० मिटर लामो पुलको ठेक्का सम्झौता लागत छ करोड ८० लाख रहेको थियो ।
पुलको दायाँबायाँ पिलर फाउन्डेसन, स्ल्याब ढलान तथा घमी खोलामा पुल जोड्ने प्रोटेक्सन र एप्रोच सडक निर्माण लगायत पुल फिनिसिङका काम सम्पन्न भएका छन् ।
पुल निर्माण सम्पन्न भएसँगै कोरोला नाकातर्फको आवतजावत सहज भएको आयोजनाले जनाएको छ ।
