चैत १० काठमाडौं ।
सुनसरीको शङ्करबेली सिमसारमा पर्यटकको चहलपहल बढेको छ।
पछिल्लो समय रामधुनी नगरपालिका–६ स्थित शङ्करबेली सिमसार आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
१३ वर्ष अघि स्थापना गरिएको उक्त सिमसार क्षेत्रमा उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटकीयस्थलका रुपमा विकास गरिएको हो।
यस समय सिमसार क्षेत्रमा दैनिक हजारौं पर्यटक आउने गरेको सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईले बताएका छन्।
सिमसारमा वनभोजका याममा दैनिक १० हजार बढी र ‘अफ सिजन’मा दैनिक १५० बढी पर्यटक आउने गरेको राईले बताएका छन्।
कात्तिक देखि पुससम्म र वैशाख १५ देखि जेठ २० सम्म वनभोजका लागि अधिक पर्यटक आउने र भीड लाग्ने गरेको बताएका छन्।
शङ्करबेली वन उपभोक्ता समितिले संरक्षण गर्दै आएको उक्त सिमसार प्राकृतिक मनोरञ्जन र वनभोजका लागि उपयुक्तस्थल मानिन्छ।
सिमसार वरपरका शिरीषका फूल वैशाख महिनामा फुल्दा यस क्षेत्रको सौन्दर्यले आकर्षित गर्ने गरेको छ। भने सिमसार क्षेत्रमा एकै पटक करिब ११० टोलीले वनभोज खान सक्ने क्षमताको वनभोज स्थल रहको जनाएको छ।
वनभोजका लागि आउने टोली बाट ३०० रुपैयाँ देखि १ हजार रुपैयाँसम्म शुल्क लिने गरिएको समितिले जनाएको छ।
उक्त संकलन भएको रकम बाट सिमसारको संरक्षण, सरसफाइ तथा व्यवस्थापन गरिँदै आएको समितिले जनाएको छ।