बजेटको प्राथमिकतामा कृषि, पर्यटन र सूचना प्रविधि हुन्छ अर्थमन्त्री

चैत २७ काठमाडौं ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१,८२ को बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन्।

 

नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसिया महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले ती क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताएका हुन्।

 

गत वर्षभन्दा चालु आवमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपण भइरहेको भन्दै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे । आगामी आवमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गरे। उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको उनले बताए।

 

पुनले विश्व बैंक र एडीबीको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च प्रगति कम रहेको बताए। आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आयोजना सम्बद्ध मन्त्रालयसँग निरन्तर संवाद र परामर्श गरिरहेको उनको भनाइ थियो।

 

पहाडमा मध्यपहाडी, तराईमा हुलाकी राजमार्ग र दर्जन संख्यामा उत्तर–दक्षिण करिडोरमा सडक निर्माण भइरहेको उनले बताए। ती सडक निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपालको आर्थिक वृद्धिदर निकै राम्रो हुने विश्वास उनले व्यक्त गरे।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *