भद्रपुर भन्सार कार्यालयमा राजस्व सङ्कलन बृद्धि

असोज १ काठमाडौं ।
भद्रपुर भन्सार कार्यालयमा राजस्व सङ्कलन बृद्धि भएको छ ।
भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३, ८४ को सुरु आती दुई महिना (साउन र भदौ) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले दुई महिनाको अवधिमा रु.४ करोड ६६ लाख ४९ हजार ५४० राजस्व असुली गरेको छ । कार्यालयले दुई महिनाका लागि निर्धारित कुल लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत बढी रहेको जनाएको छ ।
सीमा क्षेत्रमा चोरी, पैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै वैधानिक रुपमा भन्सार नाका बाट हुने आयातमा वृद्धि भएकाले राजस्व असुलीमा सुधार आएको कार्यालयका प्रमुख भन्सार अधिकृत प्रभुनारायण मेहताले बताएका छन् ।
विशेषगरी यस अवधिमा साडी, कुर्तासलवार लगायत कपडाको आयात बढेको मेहताले बताएका छन् ।
भदौमा मात्र रु. २ करोड १० लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु.३ करोड १६ लाख १५ हजार ४२२ सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि कार्यालयले रु.२६ करोड २८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।  दुई महिनाको अवधिमा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको १७ दशमलव ७५ प्रतिशत हो ।
यस अवधिमा सङ्कलित कुल राजस्वमध्ये सबैभन्दा बढी योगदान मूल्य अभिवृद्धि कर (भ्याट) बाट रु. २ करोड २० लाख एक हजार १५६ रहेको छ ।
भन्सार महसुल (आयात) बाट रु. १ करोड ८४ लाख १२ हजार ३२३, अन्तःशुल्क बाट रु. ६२ लाख ७७ हजार २९६ र कृषि सुधार शुल्क बाट रु. १३ लाख २२ हजार ३८९ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *