भदौ ३० काठमाडौं ।
भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित बनेका छन् ।
बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारे पछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
स्थानीयवासीहरुले मकै, कोदो, धान र फलफूल बाँदर बाट बचाउन कठिन भएको भन्दै बेसार खेती तर्फ लागेका हुन् ।
विशेषगरी तल्लो भेग र जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका किसान नवराज फुँयालले बताएका छन् ।
अन्न बाली जोगाउन नसक्ने र बेसारको गानो बाँदरले नखाने भएकाले बेसार खेती बाली स्थानीयका लागि उत्तम विकल्प बनेको बताएका छन् ।
उत्पादन भएको बेसार स्थानीय बजारमै सहजै बिक्री हुने गरेकाले पनि बेसार खेती उत्तम बनेको स्थानीय किसान मैयानानी न्यौपानेले बताएका छन् ।
हाल स्थानीय बजारमा बेसारको पीठो प्रति कुरुवा १०० देखि १२० रुपैयाँसम्ममा बिक्री भइरहेको स्थानीयले बताएका छन् ।
स्थानीय किसान भीमप्रसाद न्यौपानेका अनुसार बेसार जमिनमुनि फल्ने र बाँदरले मन नपराउने भएकाले सुरक्षित बाली बनेको जानकारी दिएका छन् ।
कम लगानी र थोरै मिहिनेतमा तयार हुने, औषधीय गुणले युक्त रहने तथा दीर्घकालीन रूपमा भण्डारण गर्न सकिने भएकाले बेसार खेती प्रति किसानको चासो बढ्दै गएको छ ।