समाजसेवी एवम् राजनीतिक व्यक्तित्व कर्णबहादुर मगरको निधन

भदौ २७ रामेछाप ।

शिक्षाप्रमी, समाजसेवी एवम् राजनीतिक व्यक्तित्व कर्णबहादुर मगरको दुखद निधन भएको छ ।

रामेछापको पश्चिमी क्षेत्र गाल्पा निवासी शिक्षाप्रेमी, समाजसेवी एमव् राजनीतिक व्यक्तित्व कर्णबहादुर मगरको निधनले गाल्पा बजारको विकासमा अपूरणीय क्षति पुगेको छ ।

विगत पाँच वर्षदेखि रक्त क्यान्सर बाट पीडित ७१ वर्षीय कर्णबहादुर मगरको काठमाडौंस्थित शिक्षण अस्पतालमा निमोनियाका कारण निधन भएको हो ।

रामेछापको गाल्पामा जन्मनुभएका मगरले शिक्षा, सामाजिक सेवा तथा स्थानीय विकासमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो । आफ्नै प्रयासमा ज्योति माध्यमिक विद्यालय, गाल्पा स्थापना गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

विद्यालय स्थापना पछि उहाँ करिब ३५ वर्षसम्म संस्थापक अध्यक्षका रूपमा कार्यरत रहनु भएको मगरको नेतृत्व र योगदानले विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण आधार तयार गरेको थियो ।

पश्चिम रामेछापको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गरेको गाल्पा बजारको स्थापनामा समेत उहाँको उल्लेखनीय योगदान रहेको थियो । गाल्पा बजारको विकास तथा विस्तारमा उहाँको भूमिका महत्वपूर्ण रहेको स्थानीयवासीहरू बताउँछन् ।

मगरले खानेपानी व्यवस्थापन, सडक निर्माण, सामाजिक सेवा तथा महिला सशक्तीकरण लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउनु भएको मगरले राजनीतिक गतिविधिमा समेत संलग्न रहँदै समाजको समग्र विकास र परिवर्तनका लागि योगदान दिनुभएको थियो ।

देशमा सशस्त्र द्वन्द्वका रूपमा रहेको माओवादी द्वन्द्वका समयमा समेत उहाँले तटस्थ भूमिका निर्वाह गर्नुभएको थियो । कठिन परिस्थितिमा पनि शान्ति, सामाजिक सद्भाव र मानवीय मर्यादालाई प्राथमिकता दिँदै उहाँले आफ्नो सामाजिक जिम्मेवारीलाई निरन्तरता दिनुभएको थियो ।

सरलता, इमानदारी, पारदर्शिता, शान्ति र मानवीय गरिमालाई जीवनको मूल आदर्श मान्ने मगरले आफ्नो जीवनभर यी मूल्यहरूलाई व्यवहारमा उतार्नुभएको थियो । उहाँको सरल जीवनशैली, स्पष्ट विचार र समाजप्रतिको निष्ठाले उहाँलाई स्थानीय समुदायमा सम्मानित व्यक्तित्वका रूपमा स्थापित गरेको थियो ।

उहाँको निधनले गाल्पा बजारको विकास, विस्तार तथा समग्र सामाजिक उन्नतिमा ठूलो रिक्तता सिर्जना गरेको छ ।

शिक्षा, सामाजिक सेवा, बजार विकास तथा स्थानीय जनजीवनमा उहाँले पु¥याउनुभएको योगदान गाल्पावासीका लागि सदैव प्रेरणाको स्रोत रहने छ ।

स्वर्गीय कर्णबहादुर मगरको पार्थिव शरीरको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । अन्तिम दाहसंस्कारमा जिल्लाका पूर्व माननीयज्यूहरू तथा सामाजिक र राजनीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

अन्तिम दाहसंस्कारमा उपस्थित व्यक्तिहरूले स्वर्गीय मगरले गाल्पा बजारको शिक्षा, सामाजिक सेवा र विकासका क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्वर्गीय कर्णबहादुर मगरप्रति हार्दिक श्रद्धाञ्जली !
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *