भदौ १२ काठमाडौं ।
आज देशभर जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाइँदै छ ।
आज बिहान देखि देशभरका विभिन्न ठाँउमा नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा पर्व मनाइँदै छ ।
पूर्णिमाका नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहित बाट रक्षासूत्र बाँध्ने प्रचलन रहेको छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले नाडीमा बाँधिदिने गर्छन् ।
आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नु गर्छन् ।
व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।
स्नानपछि जौं, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धति बाट मन्त्रिएको नयाँ जनै फेर्ने गर्छन ।
रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानै देखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक लगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यका लगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा पनि रहेका छ ।
क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायाम भर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्र देखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता रहेको छ ।
