भदौ ११ काठमाडौं ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुरु भएको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्था मार्फत विद्युत् सेवा पुनःसुचारु ग्रिएको जनाएको छ ।
बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुर लगायतका क्षेत्रमा सिन्धुपाल्चोक बाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
चपली सबस्टेसन बाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताएका छन् ।
आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको र साँझसम्म विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणका प्रवक्ताले बताएका छन् ।
त्रिशूली क्षेत्रका केही स्थानमा भने धादिङस्थित सल्यानटार सबस्टेसन मार्फत विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको जनाएको छ ।
बाढीबाट क्षतिग्रस्त संरचनाका कारण नियमित प्रणाली बाट विद्युत् आपूर्ति गर्न कठिनाइ भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरी सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
