असार २९ काठमाडौं ।
धनुषाका किसान चैते धान खेतीतर्फ आकर्षित भएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहमा पछिल्लो समय चैते धान खेती गर्ने किसानको सङ्ख्यामा उल्लेख्य रूपमा बढ्न थालेको जनाएका छन् ।
चैते धान प्रशस्त रुपमा उत्पादन हुने हुँदा वर्षमा तीन बाली सम्म उत्पादन लिन सकिने तथा सरकारी र विकास साझेदार संस्थाको सहयोग उपलब्ध हुने भए पछि किसानहरू चैते धान खेतीतर्फ आकर्षित भएका हुन् ।
एक कट्ठा जमिनमा तीनदेखि पाँच मनसम्म उत्पादन हुने भएकाले चैते धानखेती प्रति किसानको आकर्षण बढ्दै गएको लक्ष्मीनियाँ गाउँपालिकाका किसान विल्टु साहले बताएका छन् ।
धनुषाका सुक्खा तथा बाढी प्रभावित दुई पालिकामा सङ्घीय सरकारले सञ्चालन गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत चैते धान प्रवद्र्धन कार्यक्रम सञ्चालन भएपछि किसानको सहभागिता बढेको किसान भोला यादवले बताएका छन् ।
विश्व बैंक र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा यहाँका वटेश्वर र जनकनन्दनी गाउँपालिकाका साना तथा निम्न आय भएका किसानलाई उन्नत बीउ, आधुनिक खेती गर्न प्रविधि, सिँचाइका सामग्री तथा आवश्यक तालिम उपलब्ध गराइए पछि किसानले चैते धान खेती विस्तार गर्न थालेका स्थानीय दीपक यादवले जानकारी दिएका छन् ।
किसान दीपेन्द्र महतोका अनुसार वर्षमा तीन बाली उत्पादन गर्न सकिने भएकाले वटेश्वरमा मात्र १४० बिघा क्षेत्रफलमा चैते धान खेती गरिएको छ । भने हर्दिनाथ–१, २ र ३ जातका चैते धानको बीउ ८५ प्रतिशत अनुदानमा उपलब्ध गराइएपछि गाउँका अधिकांश किसानले चैते धान खेती सुरु गरेका किसान भाग्यचन्द्र महतोले बताएका छन् ।
महतोले समयमा बीउ, मल तथा सिँचाइको व्यवस्था भए मुलुकलाई धान, चामल तथा अन्य खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना समूह एकाइ धनुषाका कृषि अधिकृत शिवचन्द्र झाले जिल्लाका दुई पालिकामा चैते धान प्रवद्र्धन कार्यक्रम सञ्चालन भएपछि किसान उत्साहित भई खेतीको क्षेत्र विस्तार हुँदै गएको बताएका छन् ।
