असार २८ काठमाडौं ।
म्याग्दीको मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालको तयारी गरिएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिकिामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ।
प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ पदमार्ग सञ्चालनको तयारी गरिएको जनाएको छ ।
हालसम्म पर्यटकका लागि नखुलेको यस ‘भर्जिन रुट’लाई आगामी हिउँदे याम देखि सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ ।
म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पर्यटन विभागको सहयोगमा हालै सम्पन्न सम्भाव्यता अध्ययनका आधारमा धवलागिरि गाउँपालिका–४ मुदीदेखि वडा नं १ गुर्जा हुँदै वडा नं २ स्थित जलजलासम्मको पदमार्ग सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
“यो एकदमै नयाँ अर्थात् ‘भर्जिन रुट’ हुनेछ”, मन्त्री पुनले भने, “यस पदमार्गमा पर्यटक लैजान आवश्यक तयारी गर्न पर्यटन व्यवसायी र स्थानीयवासीलाई अनुरोध गर्दछु ।” उनका अनुसार पदमार्गका अप्ठ्यारा स्थानमा बाटो निर्माण, रेलिङ जडान, विश्रामस्थल तथा झोलुङ्गे पुल निर्माणमा पर्यटन मन्त्रालयले सहयोग गर्ने छ ।
यही असारको पहिलो, दोस्रो र तेस्रो सातामा मन्त्री पुनको बेनीस्थित सम्पर्क कार्यालयका प्रमुख चित्र तिलिजाको नेतृत्वमा गएको टोलीले मुदी–गुर्जा–जलजला, धौलागिरि चक्रीय पदमार्ग तथा अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि रघुगङ्गा गाउँपालिका–७ सोवाङधुरी हुँदै चिमखोला जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन गरेको थियो ।
विकल्पका रूपमा मुदी–गुर्जा–रुघाचौर–जलजला तथा दोवा–सोवाङ–चिमखोला पदमार्ग सडक विस्तार बाट प्रभावित नहुने भएकाले दीर्घकालीन सम्भावना रहेको निष्कर्ष निकालिएको छ ।
उक्त प्रतिवेदन गत साता मन्त्री पुन र पर्यटन मन्त्रालयलाई बुझाइएको थियो । धौलागिरि चक्रीय पदमार्ग योजनाका लागि आगामी आर्थिक वर्ष २०८३–८४ मा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले रु.३ करोड बजेट विनियोजन गरेको छ ।
मुदी–गुर्जा–जलजला लगायत पदमार्गको सम्भाव्यता अध्ययनका लागि रु. २१ लाख बजेट छुट्याइएको मन्त्रालयको वार्षिक पुस्तिकामा उल्लेख गरिएको छ ।
मुदीका स्थानीय विजय घर्तीले नयाँ पदमार्गले सुस्ताएको पर्यटन क्षेत्र पुनः चलायमान हुने विश्वास व्यक्त गर्दै मुदी–गुर्जा खण्डमा आधारभूत पदमार्ग, सञ्चार सुविधा तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन् ।
सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित हुन थाले पछि नयाँ पदमार्ग पहिचान गरी पूर्वाधार निर्माण र प्रवद्र्धन गर्न स्थानीयवासी तथा जनप्रतिनिधिले लामो समय देखि माग गर्दै आएको धौलागिरि हिमाल र ढोरपाटन सिकार आरक्षलाई जोड्ने प्रस्तावित यो पदमार्ग साहसिक, प्राकृतिक र सांस्कृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिएको छ ।
