असार ९ काठमाडौं ।
भोजपुरका किसान कफीखेतीमा आकर्षित बन्दै गएका छन्।
आफूले उत्पादन गरेको प्राङ्गारिक (अग्र्यानिक) कफीको माग अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्न थालेपछि भोजपुरको षडानन्द नगरपालिकाका कृषक जीवन थापा निकै उत्साहित देखिन्छन्।
परम्परागत खेतीपाती छाडेर नगदेबालीका रूपमा कफीखेती बाट राम्रो आम्दानी हुने देखे पछि उनी केही वर्षयता कफीको व्यावसायिक खेतीमा लागेका हुन्।
थापाले ६५ रोपनी क्षेत्रफलमा कफीखेती विस्तार गरेका छन्। भने उत्पादन गरेको कफीको बजारका लागि कुनै समस्या नभएको बताएका छन्।
स्वदेशी बजारमा मात्र नभई विदेशमा समेत निर्यात हुन थाले पछि अहिलेसम्म करिब एक हजार केजी कफी विदेश निर्यात गरिसकेको बताएका छन्।
हाल उनीले आफ्नै प्रशोधन उद्योग मार्फत कफीको मूल्यवद्र्धन गरिरहेको बताएका छन्। भने कच्चा दाना मात्र बेच्नु भन्दा प्रशोधन गरेर बेच्दा मूल्य दोब्बर हुने थापाले बताएका छन्।
थापा जस्तै अन्य किसान पनि कफीखेती तर्फ आकर्षित हुँदै गएका छन्। स्थानीय कृषक प्रितमकुमार राई कफीखेतीलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा लिनुपर्ने बताउँछन्।
स्थानीय सङ्गीता राईले नगरपालिका बाट बिरुवा, मल र उपकरण पाए पछि काम गर्न निकै सजिलो भएको र यसमा महिलाहरूको सक्रिय सहभागिताले महिला सशक्तीकरणमा समेत योगदान पु¥याएको बताएको छन्।
वैदेशिक रोजगारीबाट फर्किएका स्थानीय कृषक मुक्ति राई पनि विदेश जानुभन्दा गाउँमै मिहिनेत गर्दा कफी बाट राम्रो आम्दानी लिन सकिने बताएका छन।
षडानन्द नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा करिब ३ करोड रुपैयाँको लगानीमा प्राङ्गारिक कफीखेती विस्तार तथा व्यवसायीकरण परियोजना सुरु गरेको जनाएको छ।
कफीलाई आयआर्जन र रोजगारीको मुख्य आधार बनाउने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनको ‘ब्रान्डिङ’ गर्ने लक्ष्यसहित कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले १ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने किसानको लागत साझेदारी समेत समावेश गर्दा परियोजनाको कुल आकार २ करोड ८९ लाख रुपैयाँ पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद दाहालले जानकारी दिएका छन्।
परियोजना अन्तर्गत पहिलो चरणमा १५७ जना किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने कृषि शाखा प्रमुख शिला पुन मगरले जानकारी दिएको छन्।
उनीहरूका लागि ७५ हजार वटा कफी बिरुवा, खेत जोत्नका लागि ५ एचपी क्षमताका ११३ वटा र ७ एचपी क्षमताका ५० वटा मिनीटिलर उपलब्ध गराइने छ। साथै २० वटा ब्रस कटर, २५७ वटा स्प्रेयर र १६ वटा सिकेचर वितरण गरिनेछ।
खेतीलाई पूर्ण रूपमा प्राङ्गारिक बनाउन २२ हजार ६२० केजी गोठेमल, २१ हजार ३६० केजी हड्डी मल, ८६ लिटर खनिज तेल, १०० लिटर बोर्डो पेस्ट र ३३ लिटर इएम (इफेक्टिभ माइक्रोअर्गानिज्म) समेत उपलब्ध गराइने जनाएको छ।
कृषि क्षेत्रको व्यवसायीकरण र ग्रामीण अर्थतन्त्रको सुदृढीकरणका लागि यो कार्यक्रम सञ्चालन गरिएको षडानन्दका नगरप्रमुख सुरेन्द्रकुमार उदास बताएका छन्।
