असार ७ काठमाडौं ।
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवद्र्धन पछि चहलपहल बढ्दै गएको हो ।
पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवद्र्धनात्मक कार्यक्रम पछि आधार शिविरमा अनुमान गर ेभन्दा बढी सङ्ख्यामा पर्यटक आउन थालेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताएका छन् ।
अन्नपूर्णको फेदी नारच्याङमा सन् २०१२ आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरका बारेमा जानकारी गराए पछि प्रभा माविका तत्कालीन प्रधानाध्यापक तेज गुरुङ नेतृत्वको स्थानीयवासीको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको थियो ।
पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो । ‘प्रथम आरोही हेर्जोगले दिएको जानकारी र सूचनाका आधारमा निलगिरि र अन्नपूर्ण खोलाको किनारै किनार ६८ ठाउँमा काठको पुल बनाएर सात दिन लगाएर आधार शिविरमा पुगेका थियौँ ।
गुरुङले, ‘११ वर्षको अवधिमा आधारभूत पूर्वाधार बनाएर तीन वर्ष अघिदेखि सञ्चालन गरिएको नारच्याङ–आधार शिविर जोड्ने पदमार्ग ‘भर्जिन’ गन्तव्य बनेको बताएका छन् ।’
समुद्री सतह देखि ४ हजार १९० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको जनाएको छ ।
पदमार्गमा अस्थायी टहरा बनाएर सञ्चालन गरिएको रेष्टुरेन्टमा दैनिक ५० जनाको क्षमता भए पछि वसन्त र शरदयाममा दैनिक २०० जनाभन्दा बढी पाहुना आएका स्थानीय होटल व्यवसायी माइकल पुनले बताएका छन् ।
अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रवद्र्धनका कार्यक्रम पछि त्यहाँको पूर्वाधारले धान्ने भन्दा बढी पर्यटक आउन थालेको बताएका छन ।
सहज रूपमा पदयात्रा गरेर पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
आधार शिविरमा तीन वर्ष अघिसम्म वसन्तयाममा हेलिकप्टर मार्फत आरोही मात्र पुग्ने गर्दथे । नारच्याङ देखि हुमखोला सम्म २० किलोमिटर सडक र हुमखो लादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ ।
अन्नपूर्ण र नीलगिरि हिमालको फेदी बाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।
दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्किन सकिन्छ । भने निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविरमुनि समुद्री सतह देखि ४ हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ ।
१ लाख ७ हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो ।
अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकैपटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता बनेको छ ।
