जेष्ठ १३, काठमाडौं
दिपेश सिंजाली मगर
हाम्रो जीवन चक्र पद्वतिमा अनेकन घुम्ती, उकाली-ओराली र बाधा अड्चनहरु आइपर्छन् त्यसलाई समाजअनुकुल र समय संग-संगै बहन गर्न सक्नु पर्दछ । त्यसरी गरिने सङ्घर्षपुर्ण यात्रा, पलपलमा कोहि आदरणीय/पुजनीय त कोही मित्रताभन्दा परको व्यक्ति र समाजसंग जोरी खेल्नु पर्ने हुन्छ । यस्तै अनवरत यात्रा गर्दै समग्र मगरजातीको कल्याण गर्छु भनेर समर्पित भएका होमराज खपाङ्गी मगरलाई नेपाल मगर संघ १३ औं राष्ट्रिय महाधिवेशनमा देशभरीका मगरप्रतिनिधिहरुले महासचिवमा विश्वास गरिदिए ।
नेपालको केन्द्रिय राजधानी काठमाडौं शहरबाट करिब १२०-३० किलोमिटरको दुरीमा अवस्थित हिमाली जिल्ला रामेछाप, शैलुंगको फेदी, अग्लेश्वर महादेवको काखमुनि सुनापति-२ मा जन्मे हुर्केका एक जुझारु युवा, नेपालको तेस्रो ठुलो जनसंख्या रहेको समग्र आदिवासी मगर समुदायको हकहित, संबिधान प्रद्वत्त अधिकार प्राप्तिको कार्यान्वयन माग गर्न, सामुदायिक भाषा-कला, संस्कृति परम्पराको सम्बर्धन र प्रवर्धन गर्न सक्षम मानि प्रतिनिधिहरु मार्फत विश्वास पाएका छन । यो विश्वासको दियोलाई निभ्न नदिन स्वयमको आगामी काम कारवाहीमा निर्भर हुनेछ ।
ग्रामिण भेगको संयुक्त परिवार, पहाडको कठिन परिस्थितिबाट गुज्द्रै कहिले बाल मजदुर त कहिले जवान भएपछी लाहुरे(भर्ती) हुने चक्करमा निरन्तर क्रियाशील रहिरहे, ठट्टेउली, रमाईलो र मिलनसारभाव भएका खपाङ्गी राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन । हजार माईलको यात्रा पनि एक पाइलाबाट सुरु हुन्छ भने जस्तै, बि.स. २०६० साल देखि नेपाल मगर संघ रामेछाप-काठमाडौ सम्पर्क समिति सदस्यबाट पाइला टेकेका उनि त्यसयता निरन्तर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, खेलकुद, संचारर्कमी कतै सल्लाहकार त कतै संस्थापक अध्यक्ष रहेर समाजसेवामा क्रियाशील रहिरहे, मगर संघ भित्रका विभिन्न आन्तरिक संरचनाबाट नेतृत्व विकास गर्दै निरन्तर २३ वर्षको अन्तरालमा नेपाल मगर संघ केन्द्रीय समितिको कार्यकारी पदमा निर्वाचित हुनुले आफैमा गौरव र चुनौती भने पक्कै छ (अघिल्लो कार्यकालमा उपमहासचिव) ।
नेपाली परिवेश गाउँबाट शहर र शहरमा जीविकोपार्जन, पारिवारिक दायित्व,व्यावसाय र सामाजिक सेवालाई संग-संगै लैजानु आफैमा कठिन कार्य हो । भगवानले तँ आँट म पुर्याउछु भन्ने उखान जस्तै राजनीतिक चेतना, संगीतमा रुची राख्नु र त्यहिँ रुचिले बेनी बजार, फुलटिका जमरा जस्ता दोहोरी एल्बम पनि प्रकाशित गरेर सुनमा सुगन्ध थपिदिए । एउटा व्यक्ति विभिन्न क्षेत्रमा फिट हुन सक्नु लगनशील/कर्मशील/भाग्यशील के होला? जीवन भनेको जल्नु हो त्यो जल्दै गरेको अगरबत्ती जस्तै जसको जलनमा सुगन्ध मगमगाउछ, बिगतमा जति जले अब अझ जलनहुने दिन आएको छ त्यो उहाँको जलनमा समग्र मगर समुदाय मगमगाउनेछ । मगर संघ एउटा बिशुद्व सामाजिक कार्य गर्ने जातीय संस्था हो यो न कुनै राज्य स्रोत साधनबाट संचालन हुन्छ न तलब भत्ता लिएर चल्ने अंग नै ।
सम्भावित चुनौतीका चांग :
- जातीय संथाको नाममा बढ्दै गएको चरम राजनीतिकरणलाई समयानुकुल मगर समुदायको हितमा प्रयोग गर्न,
- नेपाल मगर संघलाई अझ विश्वाशिलो, भरपर्दो बनाउन,
- अधिकतम मगर समुदायको पहुँचमा पुर्याउन,
- राज्यको हरेक अंगमा क्षमतावान मगर समुदायको अधिकतम सहभागीता बढाउन,
- छरिएर बसोबास गरिरहेका मगरहरुको एकीकृत गर्न,
- लोपोन्मुख हुदै गैरहेको भाषाको संरक्षण गर्न,
- भेष, भुषा, संस्कृति र चाडपर्वको सम्वर्धन-पर्वर्धन गर्न,
निरन्तर लगनशील, धैर्यवान, दूरदर्शीता र अध्यनशील हुन सक्नु पर्दछ त्यसले स्वयमको आगामी दिनको सहि मार्गनिर्देशन हुनेछ । जीवन आफैमा सुन्दर छ बस त्यसलाई पहिचाहन गर्न र त्यसैमा रम्न सक्नु पर्दछ ।
उहाँलाई सफल कार्यकालको शुभकामना !!!
नोट: तस्बिर फेसबुक वालबाट साभार
