जेठ १२ काठमाडौं।
यार्चागुम्बा सङ्कलन गर्नका लागि १३८ जनाले अनुमतिपत्र लिएका छन्।
दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्सागुम्बा सङ्कलनका लागि हालसम्म १३८ जनाले अनुमति पत्र (पूर्जी) लिएको जनाएका हुन्।
वैशाख अन्तिम साता देखि अनुमति पत्र वितरण सुरु गरेकामा सोमबारसम्म उक्त सङ्ख्यामा सङ्कलनकर्ताले अनुमति लिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ।
कार्यालयका सूचना अधिकारी अरुण चौधरीका अनुसार हालसम्म वितरण गरिएका सबै अनुमति पत्र संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि जारी गरिएको ‘निलो कार्ड’ हुन्।
सङ्कलनकर्ताको सहजताका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय सहित जिल्लाका ११ विभिन्न स्थान बाट अनुमति पत्र वितरण भइरहेको जनाएको छ।
संरक्षण क्षेत्रले सङ्कलनकर्ताको भौगोलिक अवस्था अनुसार तीन प्रकारका परिचयपत्र र शुल्क निर्धारण गरिएको जनाएको छ।
संरक्षण क्षेत्रभित्रका स्थानीय नागरिकका लागि ‘निलो कार्ड’ बापत प्रतिव्यक्ति रु. ५००, दार्चुला जिल्ला भित्रका अन्य नागरिकका लागि ‘पहेँलो कार्ड’ बापत रु. २ हजार तथा जिल्ला बाहिरका नागरिकका लागि ‘रातो कार्ड’ बापत रु.३ हजार शुल्क तोकिएको जनाएको छ।
यार्सागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्सागुम्बा पाइने पाटन प्रत्येक वर्ष जेठ १५ गते देखि असार १५ गतेसम्म मात्रै खुला रहने कानुनी व्यवस्था रहेको छ।
यद्यपि पाटन खुल्ने समय बाँकी रहे पनि संरक्षण क्षेत्रभित्रका केही स्थानीयवासी वैशाख महिना देखिनै हिमाली क्षेत्रमा पुगेर यार्सागुम्बा सङ्कलनमा जुटिसकेका छन्।
दार्चुलाका लोलु, अपीफेद, सतगङ्गा, काटैघट्टे, खोला, चाइमटेला, धरमघर, क्षतिनाम्पा, दोपाखे र दुम्लिङ क्षेत्र यार्सागुम्बा पाइने प्रमुख पाटनका रूपमा परिचित छन्।
