जेठ ५काठमाडौं ।
म्याग्दीमा रेडपाण्डा (हाब्रे) को अवस्था पहिचान गर्नका लागि क्यामेरा जडान गरिएको छ।
म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न क्यामेरा जडान गरिएको जानएको छ।
दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धौलागिरि गाउँपालिका २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ विधि बाट हाब्रेको अवस्था पहिचान गर्न थालिएको जानकारी दिएका छन्।
बोयोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको आवतजावत हुने सम्भावित र दिसा भेटिएका ठाउँमा १२ वटा स्वचालित क्यामेरा जडान गरिएको जानकारी दिएका छन्।
‘क्यामेरामा कैद हुने दृष्यको आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्न सहयोग पुग्नेछ।’ भने यस क्षेत्रमा हाब्रेको पेट र आन्द्रामा हुने परजीवि (किरा÷जुका)को अवस्थाका विषयमा पनि अध्ययन भइरहेको जनाएको छ।
हाब्रेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र संरक्षणमा सहयोग गर्ने उद्देश्यले हाब्रेको दिसाको परीक्षण गरि अध्ययन गर्न प्राविधिक टोली परिचालन भएको छ।
समुद्री सतह बाट २ हजार २०० देखि ४ हजार ५०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ््कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ।
यस अघि जलजलामा ३ वटा क्यामेरा जडान गरिएकोमा २ वटामा रेडपाण्डा भेटिएको र सो क्षेत्रमा ६ वटा देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको कार्यक्रम अधिकृत राइले बताएका छन्।
विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए।
रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसा लगायत झारपात खान भुइँमा झर्छ।
रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त रहेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो।
