‘मुन्दुम ट्रेल’ मदमार्ग पर्यटकीय केन्द्र बन्दै

वैशाख २० काठमाडौं।
‘मुन्दुम ट्रेल’ मदमार्ग पर्यटकीय केन्द्र बन्दै गएको छ।

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यति बेला थरिथरिका गुराँस फुलेसँगै पर्यटकको रोजाइमा पर्न थालेको छ।

मुन्दुम ट्रेल आसपासका एउटै वन क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले जो कोहीको मनलाई मोहित बनाउने गरेको छ।

खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङ बाट सुरु भएको मुन्दुम ट्रेल आसपासका वनमा फुलेका लालीगुराँस, चिमाल तथा चाँप हेर्न यतिबेला आन्तरिक तथा बाह्य पर्यटक मुन्दुम ट्रेल आउने गरेको स्थानीयले बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरका प्रभावले झनै गुराँस अवलोकन गर्नका लागि मुन्दुम ट्रेल जाने अन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीयले बताएका छन्।

प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको अद्वितीय सङ्गमका रूपमा स्थापित मुन्दुम ट्रेल क्षेत्र यतिबेला गुराँसले ढकमक्क ढाकिँदा झन् रमणीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

मुन्दुम ट्रेल आसपासका क्षेत्रमा पर्ने मैयुङका फाँटमा विभिन्न १८ प्रजातिका गुराँस पहिचान भएको र अझै यकीन तथ्याङ्क आउन बाँकी रहेको अनुसन्धानकर्ताले बताएका छन्।

मुन्दुम ट्रेल आसपासमा पर्ने मैयुङ, मेरुङ र धोद्रे क्षेत्रमा रहेका घाँसेमैदान भेँडापालनका लागि उपयुक्त ठाउँ भएकाले दर्जनौँ भेँडी चोक तथा चौँरीको गोठ हुने गरेको केपिलासगढी गाउँपालिका–१ फेदीका भेँडापालक लक्ष्मण साम्पाङ ‘समीप’ले बताएका छन्।

पूर्वीपहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किराँत समुदायको ऐतिहासिकतासँग सम्बन्धित रहेको जनाएका छन्।

खोटाङ र भोजपुरको सीमामा पर्ने मुन्दुम ट्रेल ३ हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, ३ हजार ७५० मिटरको साल्पापोखरी तथा ४ हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ।

पहाडैपहाडको चुचुरामा निर्माण गरिएको मुन्दुम ट्रेल पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि १० दिन लाग्ने गरेको जनाएका छन्।

वसन्त ऋतुमा हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि ढकमक्क फुलेका गुराँस अवलोकन सकिने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिएका छन्।

ठूल्ठूला घाँसेमैदान, फराकिला चौँरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ।

पदमार्गमा अधिकांश किराँत समुदायका वस्तीहरु रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले यो पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको जनाएका छन्।

मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, थार, भिरमौरी तथा विभिन्न प्रजातिका जङ्गली जनावरको अवलोकन गर्न पाइन्छ।

डेढ दर्जनभन्दा बढी प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण रहेको छ।

मानवबस्ती कम पाइने मुन्दुम ट्रेलमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन्।

परम्परागत रुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठ–स्टे (गोठवास)को व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *