ढोरपाटन सिकार आरक्षमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

वैशाख १ काठमाडौं।
ढोरपाटन सिकार आरक्षमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै छ।

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवाको गणना गरिने भएको हो।

सिकार आरक्ष क्षेत्र ढोरपाटनका रेन्जर सागर सुवेदीका अनुसार हिउँ चितुवा गणनाका लागि गणकहरुलाई तालिम दिने तयारी भइरहेको बताएका छन्।

नाउर र झारलको वैधानिक सिकारका लागि विश्वविख्यात यस आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि हालसम्म आधिकारिक गणना हुन सकेको थिएन।

गणना कार्यमा आरक्षका कर्मचारी, तालिम प्राप्त गणक र स्थानीय बासिन्दाहरूको सहभागिता रहने जनाएको छ।

हिउँ चितुवाको अवस्था पत्ता लगाउन आरक्षका उच्च पहाडी क्षेत्रमा रहेका सिकार ब्लकहरूमा ५६ वटा स्वचालित ’क्यामेरा ट्रयाप’ जडान गरिने सुवेदीले जानकारी दिएका छन्।

करिब १० जना गणकहरू ४५ दिनसम्म उच्च हिमाली भेगमा खटिने छन्। गणकहरूले क्यामेरा जडान गर्ने, प्रत्यक्ष फोटो तथा भिडियो खिच्ने, र चितुवाको पाइला तथा दिसा सङ्कलन गरी विस्तृत प्रतिवेदन तयार पार्ने छन्।

क्यामेराले कैद गरेका तस्बिरमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिने र सङ्कलन गरिएको दिसालाई प्रयोगशालामा परीक्षण गरिने जनाएको छ।

१ हजार ३२५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लासम्म फैलिएको छ। आरक्षका सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँ चितुवाको बासस्थान रहेको अनुमान गरेको छ।

ब्लकहरू ४ हजार मिटर देखि ७ हजार मिटरभन्दा बढी उचाइसम्म रहेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *