चैत ४ काठमाडौं।
नवलपरासीमा ४६ हजार बढीले जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाएको छ।
जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण दर पछिल्ला वर्षमा बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी यही चैत १ गतेदेखि ५ गतेसम्म खोप अभियान सञ्चालन गरिएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियान अन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका हुन्।
जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको खोप अभियानमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला सहभागि भएको जनाएको छ।
हालसम्म उल्लेखनीय प्रगति देखिएको र मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१ दशमलव १ प्रतिशतले खोप सेवा लिइसकेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईंले बताएका छन्।
जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार जिल्लाका सबै स्थानीय तहमा खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको र स्थानीय तहसँगको सहकार्यमा अपेक्षित उपलब्धि हासिल भएको जनाएको छ।
विशेषगरी मध्यविन्दु नगरपालिका र बौदिकाली गाउँपालिकामा खोपको प्रगति उल्लेखनीय देखिएको र मध्यविन्दुमा ४९ दशमलव ८ प्रतिशत तथा बौदिकालीमा ४७ प्रतिशत प्रगति भएको जनाएको छ।
अभियान अन्तर्गत करिब १ लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको र लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको प्रमुख चापागाईंले बताएका छन्।
